काठमाडौं । अध्यागमनमा बसी अनियमितता गर्ने कर्मचारीलाई नछाड्ने नयाँ मन्त्रीको प्रतिबद्धता सार्वजनिक भएको केही दिन नबित्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भ्रष्ट अध्यागमन अधिकृत कारवाहीमा परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाइएकामध्ये तीन अधिकृतले आचरण विपरीत कार्य गरेको पाइएपछि विभाग तानिएका छन् । ऐनले तोकिए बाहेकका गलत कार्यमा संलग्न रही शुभलाभ हासिल गर्न पल्किएका अध्यागमन अधिकृतहरू ज्योति पौडेल, बलराम हाथेछु र राजकुमार दुलाललाई गतहप्ता जिम्मेवारीविहीन बनाई विभागमा फिर्ता बोलाइएको हो । यिनीहरूमाथि छानविन चलिरहेको विभाग स्रोतले जनाएको छ ।
अधिकृत हाथेछुले अमेरिका जान लागेका नेपालीको ग्रीनकार्डमा उडान अनुमतिस्वरुप छाप लगाइदिएका थिए । तर ती नेपालीलाई हंगकंग हु“दै अमेरिका जाने क्रममा हंगकंगको अध्यागमन कार्यालयले पक्रिएर नेपाल फर्काइदिएको छ । हंगकंगको अध्यागमनले ती नेपालीले अमेरिकाको नक्कली ग्रीनकार्ड बोकेकोले नेपाल नै फर्काइदिएको हो । हाथेछुले नक्कली अमेरिकी ग्रीनकार्डमा शुभलाभ लिई नेपाल सरकारको तर्फबाट उडान अनुमति दिएकाले छानविन शुरु गरिएको स्रोतको दावी छ ।
पौडेललाई भने उज्वेकिस्तानकी युवतीलाई नक्कली स्टिकर बनाएर उडाउन खाजेको आरोपमा अध्यागमन विमानस्थलको जिम्मेवारीबाट मुक्त गरिएको हो । पौडेलले भीसा नवीकरण नगरिकन अवैध रुपले नेपालमा बसेकी उज्वेक युवतीलाई अधिकारको दुरुपयोग गरी उडाउन सहयोग गरेका थिए । नवीकरण नभएको ती युवतीको अवैध कागजातमा पौडेलले नक्कली स्टिकर लगाउन निर्णायक भूमिका निर्वाह गरेको खुलेपछि उनीमाथि कारवाही प्रक्रिया अघि बढाइएको हो । दुलालले पनि यस्तै गलत कार्य गरी सरकारी छाप र हैसियतको दुरुपयोग गरेका पाइएको छ । उनले युरोप जान लागेका एक भारतीयलाई नक्कली कागजातमै नेपाली अध्यागमनको छाप लगाइदिएर पदीय हैसियतको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप लागेको छ ।




