🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रचण्डका दूतबाट कति प्रलोभन आयो–आयो, भनी साध्य छैन

(मूल्य र निष्ठाको राजनीति गर्ने कम्युनिस्ट नेता नेपालमा निकै कम छन् । त्यसमध्येका एक ऋषि कट्टेल हुन् भन्दा अत्युक्ति हुँदैन होला । २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी केही समय एमालेमा आबद्ध थिए । तर, सिद्धान्तच्यूत भएको ठहरका साथ बाहिरिए । त्यहाँबाट बाहिरिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन गरे । त्यही पार्टी जसको पक्षमा अदालतले फैसला गरिदिंदा केपी ओली र प्रचण्डको घर मात्रै अलग भएन, राजनीति नै उलट पुलट भइदियो । कट्टेलका अनुसार, आधिकारिकताको मामला अदालतमा चर्किंदै गर्दा प्रचण्ड समूहबाट मुद्दा फिर्ताको आग्रह गर्दै ठूलो प्रलोभन आएको थियो ।  तर, उनी गलेनन् । कट्टेलसँग साँघुका लागि सुयोग शर्माले गरेको सवाल : सम्पादक)

० नेकपाको आधिकारिकतासम्बन्धमा अदालतमा तपाईंले हालेको मुद्दाले देशको राजनीतिमा ठूलो परिवर्तन ल्यायो । ठूलो दल तीन टुक्रामा विभाजित भयो । प्रतिपक्ष सत्तापक्ष पनि बने । आफ्नो कारणले यति ठूलो परिवर्तन आउँदा कस्तो लागिरहेको छ ?
–सरसर्ती हेर्दा यो मेरो कारणले भएजस्तो लाग्छ । तर, यो सत्य होइन । यो उनीहरूले गरेको बदमासीको परिणति हो ।

० सत्य चाहिं के हो त ?
–प्रचण्ड, केपी ओली उमेरले मेरा भाइ हुन् । उनीहरूले ठूला पद पाए होलान् तर कम्युनिस्ट आन्दोलनमा म उनीहरूभन्दा सिनियर हुँ । म र केपी ओली त कुनै बेला एउटै संगठनमा थियौं । संयुक्त आन्दोलनमा प्रचण्डसँगै हिँडेका हौं । नेकपा भन्ने दल थाहा नपाएर होइन कि दम्भ देखाएर पेलेर ओली प्रचण्डले नेकपा दर्ता गरेका हुन् । हामी ठूला दल मिलेपछि साना क¥यापकुरूप हुन्छन्, कानून हाम्रै हातमा छ भनेर उनीहरूले अधिनायकवाद लादे, पेले । सोचेका थिए होला, हामी डराउँछौं । लुत्रुक्क पर्छन् । हामीले यिनीहरूसँग दब्नु पर्ने कारण देखेनौं । संघर्ष गरेनौं । निर्वाचन आयोगमा दर्ता भइसकेको दलको नामसँग जुध्ने गरी वा भ्रम सिर्जना हुने गरी अर्को दल दर्ता गर्न पाइने छैन भनेर कानूनमा लेखिएको छ । त्यो मुद्दा हामीले पहिल्यै जित्नुपर्ने थियो । तर, लम्ब्याएर राखियो । अन्ततः उनीहरूको अदालतमा स्वार्थ बाझियो कि के भयो हामीलाई जिताइदियो । अयोधीप्रसाद यादवका त्रुटिले हामी अदालत जानुपर्ने परिस्थिति भयो । उसले न चितवनको मतपत्र च्यातिएको प्रकरण न्याय ग¥यो न हाम्रो हकमा ।

त्यसमा उसलाई अहिले पश्चाताप छ । एक पटक मैले कान्तिपुर एफएममा दिएको अन्तर्वार्तामा अयोधीप्रसाद यादवले अन्याय गर्दा अदालत जानुप¥यो भनी बोलेको थिएँ । अदालतले हराए के गर्नुहुन्छ भन्ने अर्को प्रश्न पनि त्यहाँ मलाई सोधिएको थियो । जवाफमा मैले एउटा यस्तो दस्तावेज बनाएर राख्छु जसबाट भोलिको पुस्ताले नेपालको न्याय कसरी दबाएर राखिँदो रहेछ भनेर थाहा पाओस् भनेँ । अयोधी यादवले त्यो अन्तर्वार्ता सुनेका रहेछन् । उनी मेरा पुराना चिनजानका हुन् । सम्मान पनि गर्थे । त्यो अन्तर्वार्ता लगत्तै फोन गरेर दबाबका कारण मैले त्यस्तो निर्णय लिनुप¥यो । तपाईंमाथि अन्याय गरेँ । ऋषिजी, धेरै धेरै सरी भने । इला शर्माले बीबीसीको अन्तर्वार्ताको क्रममा आफ्नो ६ वर्षे कार्यकालमा नेकपा दर्ता र भरतपुर निर्वाचनका क्रममा गरेको काममा पश्चाताप रहेको स्वीकारेकी छन् ।

०  नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुग्दा तीव्र चलखेल भएको विषय बाहिर आएको थियो । यो सत्य हो ?
 –अदालतले नेकपाको आधिकारिकता मेरो दललाई दिने अवस्था भएपछि प्रचण्ड–माधव समूह बढी त्रस्त थियो । मुद्दा फिर्ता लिइदिनुस् भन्ने आग्रह बोकेर प्रचण्डका दूत आएका थिए ।

० त्यस्तो प्रस्ताव लिएर आउनेमा को–को थिए ?
–प्रचण्डको तर्फबाट देव गुरुङलगायत आदि, इत्यादि ।

० के भन्नुभयो त उहाँहरूलाई ?
–कामरेड नेकपाको आधिकारिकता तपाईंले पाए हामी समस्यामा पर्छौं । तपाईंले मुद्दा फिर्ता लिएर सहयोग गरिदिनुप¥यो भनेका थिए ।

० उहाँहरूलाई के भन्नुभयो त ?
–मैले यो कुरामा मेरो मञ्जुरी छैन । तपाईंहरूले मलाई पेलेर पार्टी दर्ता गर्नुभयो, मुद्दा फिर्ता लिन्नँ भने ।

० प्रलोभन पनि आयो कि ?
–खास जिम्मेवारबाट त यस्ता कुरा कम आयो । तर, प्रचण्डका दूतबाट कति प्रलोभन आयो–आयो, भनी साध्य छैन ।

० संक्षेपमा भनिदिनुहोस् न ?
–मुद्दामा तलमाथि हुँदा उनीहरूको सत्ता रहने र गुम्ने भयो । सत्ताका लागि नेपालमा जे पनि चल्छ । उनीहरूलाई जे–जे लाग्छ, सक्छन् सबै गरे । मिडियामा भनेर साध्य छैन । मुद्दापछि पनि पार्टी एक बनाऊ भनेर झलनाथ खनाललगायत आए । त्यसलाई पनि अस्वीकार गरेँ ।

० एकता गरेको भए त पार्टी ठूलो हुन्थ्यो नि ?
–एकता गरेको भए पार्टी ठूलो हुन्थ्यो । सत्ता पनि आउँथ्यो । तर, यी भ्रष्टाचारीलाई हुलेर ठूलो पार्टी बनाउनुको के अर्थ ? यिनले मेरो पार्टी लुटिहाल्थे नि । हेर्नुस्, म पद, प्रतिष्ठा र सत्ताका लागि राजनीति गर्ने मान्छे होइन । हिजैदेखि एमाले पार्टीमा थिएँ । सांसद् लड्न टिकट दिन्थे, राष्ट्रिय सभामा बस् भन्थे । तिनीहरूले पद नदिएर मैले एमाले छाडेको होइन, सिद्धान्तच्यूत भएकाले बाटो अलग गरेको हुँ । पुष्पलालले देखाएको बाटोको काम अधुरो रहेकाले त्यसलाई पूरा गर्नु ऐतिहासिक जिम्मेवारी हो भनेर तिनको पद प्रतिष्ठा छाडेर हिँडेकाले प्रलोभनले मलाई गाल्दैन ।

० तपाईं मूल्य–निष्ठाको राजनीति गर्नुहुन्छ । गुजारा कसरी चलाउनुहुन्छ ?
–ठूलो गुजारा के छ र ? एक त मेरो केटाकेटी हुर्किसकेका छन् । कान्छो छोरो इन्जिनियर छ, डब्लूएचओमा जागिरे छ । कान्छी बुहारी नेपाल सरकारकी अधिकृत हुन् । अहिले पनि मेरी श्रीमती गोरखामा बाख्रा पालेर जीवन गुजारा गर्छिन् । कान्छो छोराले काठमाडौंमा घर बनाएको छ, त्यही बस्छु । मासिक खर्च त्यही ५–७ हजार हुन्छ । अलिअलि साथीहरूले पनि सहयोग गर्नुहुन्छ ।

० तपाईंको पार्टीमा कति मानिस संगठित छन् ?
–त्यस्तै तीन–चार हजार जति होलान् । सम्मेलन पहिले नै गर्नुपर्ने थियो । तर, कोरोनाको कारण सम्भव भएन । आगामी २०७८ पुस १७–१८ का लागि महाधिवेशनकै काम गर्नेगरी सम्मेलन गर्दैछौं । त्यसकै तयारीका लागि अहिले जनकपुरमा छु । ठ्याक्कै कति मानिस हाम्रो दलमा ‘कमिटेड’ छन् भन्ने कुरा त्यसपछि थाहा हुन्छ ।  

 ० तपाईंले नेकपाको नेतृत्व लिएको कति भयो ?
–मैले यो पार्टी पुनर्गठन गरेको ९–१० वर्ष भयो । त्यसयता लिड गरिरहेको छु ।

० अब पनि आफैं नेतृत्व लिनुहुन्छ कि हस्तान्तरण गर्नुहुन्छ ?
–साथीहरूले ‘एक कार्यकाल नेतृत्व गर्नुपर्छ, बूढो भएँ भन्न पाउँदैनस्’ भनेका छन् । साथीहरूले छाँट देखाए छाड्ने हो । अब उहाँहरू तयार हुनु भएन भने आफूले बनाएको पार्टी त्यसै छाड्ने कुरा भएन । एक कार्यकाल आफैं नेतृत्व गर्नुपर्ला ।

० कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरण भएन भन्ने विषय उठिरहेको छ नि ?
–पुस्तान्तरण भन्ने गलत कुरा हो ।

० पुस्तान्तरण कसरी गलत भनन् हुन्छ ?
–बुर्जुवा पार्टीमा स्वार्थका लागि झगडा हुन्छ । वास्तवमा कम्युनिस्टको निजी स्वार्थ हुँदैन । अहिले बिग्रिएको बेलामा जे पनि भएको छ, बेग्लै कुरा हो । निजी स्वार्थबाट मुक्त भएको व्यक्ति मात्र कम्युनिस्ट हुन्छ । निजी स्वार्थ छैन भने के को पुस्तान्तरण, के को हस्तान्तरण ? काम गर्ने हो, केका लागि चाहियो पद । यो पुस्तान्तरण पुँजीवादीमा पालैपालो लुटेर खान भन्ने गरिएको बहाना हो ।

० नेपालमा कम्युनिष्ट छन् कि छैनन् त ?
–छन् भनेर त हामी काम गरिरहेका छौं, लागिरहेका छौं । अर्काले छैन भनेर हुन्छ र । नेपालमा कम्युनिस्ट छैनन् भनेर आन्दोलनबाट च्यूत बुर्जवाले भन्छन् ।

० तपाईं कम्युनिस्ट हो कि होइन त ?
–हामी कम्युनिस्ट हौं । कम्युनिस्ट भएकैले काम गरिरहेका छौं । देश, जनता र राष्ट्रको हितमा निस्वार्थले काम गरेकाले हामी कम्युनिस्ट हौं । यदि हामी सिद्धान्तच्यूत छौं भने कसैले देखाइदिनुप¥यो ।

० कम्युनिस्ट पार्टीको संगठन कस्तो हुनुपर्छ ?
–ठ्याक्कै एक शब्दमा भन्दा कम्युनिस्टहरूको संगठनात्मक सिद्धान्त लेनिनवादी हुनुपर्छ । यो भनेको जनवादी केन्द्रीयतामा आधारित संगठन हो ।

० विशुद्ध व्यावसायिक क्षेत्रका कर्मचारी, प्राध्यापकलाई भातृ संगठनमा नभएर मूल कमिटीमै जोड्नु लेनिनवादी संगठनात्मक सिद्धान्तमा पर्छ ?
–कम्युनिस्ट पार्टीको सदस्य हुन् सबैभन्दा पहिले सर्वहारा वर्गीय चिन्तन हुनुपर्छ । यस्तो चिन्तन पैसा भएकाले पनि गर्न सक्छन्, नभएकाले पनि ।  माक्र्सकै सन्दर्भमा हेरौं । उनका धेरै सिद्धान्त प्रतिपादन भए जसलाई ठूला क्याथलिस्ट एंगेल्सले सहयोग नगरेको भए सम्भव नै हुने थिएन । व्यावसायिक हुन्, अव्यवसायिक जेसुकै हुन्, हरेक मानिस कम्युनिस्ट पार्टीको सदस्य हुन सक्छन् ।  

० विशुद्ध व्यावसायिक शिक्षक, प्राध्यापक सरकारी कर्मचारी पार्टीको उपल्लो तहको विभागमा बस्दा अति राजनीतिकरण भएको गुनासो सुनिन्छ । तपाईंलाई मेरो प्रश्नचाहिँ व्यावसायिक हुनुपर्ने क्षेत्रलाई अतिराजनीतिकरण गर्ने कुरा कम्युनिस्टको शब्दकोषमा जायज ठहर्छ कि नाजायज भन्ने थियो ?
–कम्युनिस्ट पार्टीको सदस्य हुन कुनै पनि पेशाले रोक्दैन । अब माथिल्ला जिम्मेवारीमा बस्ने कुराचाहिँ उसको ‘रिस्क’को कुरा हो । मौजुदा कानूनलाई चुनौती दिने अधिकार हरेक नागरिकलाई छ । सरकारी कर्मचारीलाई पनि छ । तर त्यस्ता व्यक्तिलाई राज्यले कानूनअनुसार कारबाही गर्नसक्छ ।

० शिक्षक, सरकारी कर्मचारी जो पनि पार्टी सदस्य बन्दा हुन्छ ?
–अदालत, निर्वाचन आयोगले दलको कमिटीमा बस्न पाइँदैन भनेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र राष्ट्रका हर्ताकर्ता । आफैं कानून बनाउँछन्, आफैं कुल्चन्छन् । हाम्रो परिभाषामा त्यस्तो हुँदैन । हरेक मान्छे चित्तबुझेको पार्टीमा संगठित हुन पाउँछ । जस्तै, शिक्षककै कुरा गरौं । ऊ कम्युनिस्ट पार्टीको सदस्य हुन पाउँछ । तर, विद्यालयमा अध्यापन नगराइ पार्टी काम गर्नु अनैतिक हुन्छ । आफ्नो डुयुटी पूरा भइसकेपछिको अवस्थामा भने उसले मन लागेको काम गर्न पाउनुपर्छ ।

० दागी, भ्रष्टाचारको बात् लागेका, ठेकेदार, नाफाखोरबाट कम्युनिस्ट पार्टीको चोटाकोठा भरिएको छ । किन यस्तो भइरहेको छ ?
–अहिलेका यी सरकारी पार्टीको कुरा छाडिदिनूस् साथी । यिनको दलमा भ्रष्ट, कमिसनखोर, दलाल हुनु कुनै नयाँ कुरा होइन ।

० माओवादी केन्द्रमै पनि छन् क्या ?
–माओवादी, एमाले, माकुनेको पार्टी एउटै ड्याङका मुला हुन् । यी सरकारी पार्टीले तस्कर, भ्रष्ट, विदेशी दलाल खोजीखोजी समेट्छन् । जसले धेरै भ्रष्टाचार गर्छ, त्यही ठूलो नेता हुन्छ, यिनीहरूको पार्टीमा । यी पार्टी ठेकेदार, तस्कर, माफिया, दलाल, कमिसनखोरको संयुक्त मोर्चा हुन् । त्यसैले त हामी यिनीहरू कम्युनिस्ट होइनन्, खाइदेऊ हुन् भनेर कम्युनिस्ट पार्टी पुनर्गठनको कुरा गरिरहेका छौं त । अब बिगारेको कुराको उदाहरण दिएर हुँदैन । कम्युनिस्ट पार्टी यसरी बनाउने हुँदै होइन ।

० कस्तो हुनुपर्छ त कम्युनिस्ट पार्टी ?
–अनुशासित, शुद्ध चरित्र भएका कार्यकर्तामा आधारित, वर्गीय सोच र चिन्तन भएका पार्टीको पार्टी हो कम्युनिस्ट ।
देशमा चलिरहेको उपभोक्तावादी संस्कृतिले हामी अप्ठ्यारोमा परेका छौं । सबै पार्टीमा यसको कुप्रभाव देखिन्छ । यसलाई बदल्नु अहिलेको आवश्यकता र चुनौती दुवै हो, जुन प्रयास अहिले हामी गर्दैछौं । पुनर्गठनमा गुणात्मक रूपमा कार्यकर्ता निर्माणमा हामी लागेका छौं । तर, त्यसले आकार लिइसकेको छैन ।

० को–को लागिरहनु भएको छ ?
–म, लोकनारायण सुवेदी, शरणविक्रम मल्ल, आरसी भण्डारी, रामकुमार महतोलगायत हामी धेरै छौं ।

० टुटफुट झेलेका साना कम्युनिस्ट पार्टी एक गर्ने कुरा पनि थियो । त्योचाहिँ कहाँ पुग्यो ?
–मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, आहूति, हामीहरू कम्युनिस्ट पार्टी पुनर्गठन गर्नेबारे छलफलमा छौं । एकै दिनमा हुँदैन, समय लाग्छ ।

० साना कम्युनिस्ट पार्टीमा निष्कलंक र इमान्दार नेता हुनुहुन्छ । र पनि आकर्षण देखिँदैन । यसको कारण के हो ?
–एकाध नीतिगत कुरा नमिले पनि दुई चार वर्ष अगाडि सारतः धेरै कुरामा नजिक थियौं । जनताको संविधान बनाउने भनेकाले संविधानसभा निर्वाचनसम्म हाम्रो कार्यनीति मिलिरहेको थियो । तर, एकाएक खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाएर प्रतिक्रियावादी संविधान बनाइयो । प्रतिक्रियावादी राज्यसत्ता निर्माण गरेपछि हामी कम्युनिस्ट पार्टीबीच दरार देखियो ।

संख्यात्मक रूपमा धेरै भएकाहरू गलत बाटोमा अघि बढे, हामी थोरैचाहिँ यता रह्यौं । यसलाई ठीक ट्रयाकमा ल्याउन संघर्ष गरिरहेका छौं । नेपाली जनताको ठूलो हिस्साले कम्युनिस्ट आन्दोलन मन पराउँछ । विगतमा जबजब बेइमानी भए, जनताले खुइलाइदिए । ०४८ मा एमालेले धोका दिए, खुइलाइदिए । माओवादीले ०६४ पछि धोका दियो, हार खाए । दुवै शक्तिले धोका दिएकाले जनताले कम्युनिस्ट होइनन् भन्ने बुझेका छन् । विस्तारै असली कम्युनिस्ट गोलबद्ध हुँदैछन् । २–४ वर्षमा यसले मूर्त रूप लिन्छ ।

० समाज बढी विलासी भएर कम्युनिष्ट कार्यकर्ता भाँडिएको पो हुन् कि ?  
–जनतामा कुन कम्युनिस्ट ठीक, कुन बेठीक भन्ने भ्रम बाँकी छ । दोस्रो पुँजीवादले विश्वभर उपभोक्तावादको दुष्चक्र फैलाइएको छ । नयाँ पुस्तालाई खाऊ, लाऊ, मोज गर, इन्फरमेशन टेक्नोलोजीको प्रयोग गर, सुखी जीवन यही हो भनेर आँधी लाइदिएको छ । के हो राजनीति, आदर्श, कम्युनिस्टहरूले के निर्वाह गर्नुपर्ने हो थाहा नै छैन । कहाँ के पाइन्छ भनेर नयाँ पुस्ता हिँडेको छ । सारमा उपभोक्तावादले मानिसलाई सताएको छ । विश्व पुँजीवादको दुष्चक्रमा विश्व र नेपाली समाज फसेको छ । हिजो क्रान्तिको नेतृत्व गरेकाले पनि धोका दिए । धोका दिएपछि जरुर सन्नाटा छाउँछ । अहिले भएको त्यही हो । हामी छिट्टै जनतालाई बुझाएर कम्युनिस्ट आन्दोलनलाई सम्हाल्छौं अनि माथि उठाउँछौं ।

० क्रान्ति गर्न त शक्ति हुनुपर्ला । यति कमजोर धरातलमा टेकेर कसरी गर्नुहुन्छ क्रान्ति ?
–हामी किन कमजोर हुने ? हुल र भिडमा भन्दा  हामी नैतिक रुपमा शक्तिशाली हौं । विकल्प हौं । त्यसैका लागि जनतामा जान लागेका छौं । अस्ति काठमाडौंमा मोर्चा घोषणा ग¥यौं । अब जनताको बीचमा विकल्प लिएर पहिलो चरणका कार्यक्रम लैजाँदैछौं । दलाल संसदीय व्यवस्थाले देश र जनताको हित गर्दैन, फ्याक्नु पर्छ भनेर देशव्यापी जनसभा गर्दैछौं । वर्ग संघर्षका अन्य कार्यक्रम पनि गर्छौं । हाम्रो उद्देश्य यो राज्यसत्ता मिल्काउने भएकाले त्यो अभियान आजको भोलि नै पूरा हुँदैन । यसका लागि लामो कोर्ष पार गर्नुपर्छ । जनमत बनाउनु पर्छ ।