🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनिक अस्पताल छाउनीको बिजोग कसले हेर्ने ? 

कुरा करिब  चार महिना अघि को हो । म मेरो आमालाई पेट दुख्ने समस्या लिएर विराटनगरमा जचाउँदा सिटी स्क्यान गर्नु प¥यो । सिटी स्क्यान गर्दा प्यान्क्रियाजको क्यान्सर भएको पत्ता लाग्यो । नराम्रो खबरले एकातर्फ उदासिन त भएँ नै । तर पनि उपचार के के गर्न सकिन्छ सबै गर्ने जमर्को गरें । अप्रेसन, किमो थेरापी बिभिन्न चिजको कुरा आयो । टन्नै पैसा खर्च हुने देखियो । त्यसपछि मैले प्लेनको टिकट काटेर आमालाई आफ्नै सैनिक अस्पताल छाउनी, काठमाडौंमा जाने निधो गरें । नेपालभरीको हामी जस्ता हिताधिकारीहरुलाई भनेर बनाएको अस्प्पतालमा उपचार राम्रो हुने आशा बुन्दै म छाउनी अस्पताल पुगें । तर, अफसोस । मेरो आशा हरेक दिन निराशा मा परिनत हुँदै गए । 

 अस्पतालको भिड छिचोल्दाछिचोल्दै सर्जरी विभाग पुग्न २–३ दिन  लाग्यो । क्यान्सर निकै जटिल भइसकेको हुनाले शल्यक्रिया जटिल हुने कुरा निकाले । यो अपरेसन यही हुन सक्ने वा नसक्ने बारे डाक्टरहरुले अर्को २–४ दिनसम्म पनि केही ठोस निर्णय दिन सक्नु भएन । पुरानो पल्टनको नाताले चिनेको एकजना मेडिकल भाइसँग भेट भयो । उनीबाट थाहा पाएँ, यसै सालको छ महिनाभित्र मेरो आमाको जस्तै रोग सम्बन्धी उपचार गर्ने ३ जना विशेषज्ञ डाक्टरहरुको टिम नै सैनिक अस्पतालबाट राजीनाम दिइ मेडिसिटी जानु भएको रहेछ । त्यसै हुनाले अरुले निर्णय दिन नसक्नु भएको मैले ठम्याएँ । आमाको मायाँले हतारहतार रिपोर्ट लिएर मेडिसिटी हानिएँ । डाक्टर सा’बसँग त भेट भयो तर, त्यहाँको खर्च धान्न सक्ने मेरो सामथ्र्य थिएन । निराश हुँदै म साथीको डेरामा फर्किएँ । जे भए पनि उपचार अवधिभर बस्नलाई उसले म र मेरो आमालाई आश्रय दिएको थियो ।

उसैको सल्लाहमा म एक चोटी टिचिङ अस्पताल महाराजगञ्ज जाने निधो गरें । त्यहाँको डाक्टर टिमले जटिल शल्यक्रिया भएकोले एक चोटी एमआरआइ गरी वर पर फैले, नफैलेको यकिन गरेर मात्र शल्यकृया गर्ने सुझाब दिए । फेरि म उही छाउनी अस्प्ताल हानिएँ, तर अफसोस यहाँ एमआरआइ मेशिन नभएकै दशांै वर्ष भएको रहेछ । यत्रो ठूलो केन्द्रीय सैनिक अस्पतालमा जाबो एउटा एमआरआइ यत्रो वर्षदेखि नहुनु, अचम्म लाग्यो । मलाई त्यहाँबाट जर्नेलले नै चलाएको निजी क्लिनिक कुन्डलिनी जानलाई रिफर बनाउन नै अर्को ३ दिन लाग्यो । बल्ल बल्ल कुन्डलिनी पुगी एम आर आइ गराएँ । यतय कुद्दा उता कुद्दा ट्याक्सी मै मेरो हजारौं रकम सकिसकेको थियो । एम आर आइ गरेर बाहिर निस्कँदा तारा भएको डाक्सा’बको गाडी देखें ।

नजिकैको गार्डसँग सोधें, छाउनी अस्पतालको जर्सा’ब पनि यता क्लिनिक चलाउनु हुन्छ, तर उसले भन्यो यो सम्पूर्ण सम्पत्ति नै उहाँ जर्नेलको हो, मालिक हो नि । वर्षौंदेखि छाउनीमा किन मेशिन नआएको रहेछ भनेर मलाई अड्कल काट्न खासै समय लागेन । खुइया गर्दै म फेरि आमालाई ट्याक्सीमा राखेर हानिएँ ।  भोलिपल्ट रिपोर्ट लिएर टिचिङ अस्प्ताल जाँदा थाहा भयो, आमाको व्यथा(क्यान्सर) पहिलेभन्दा धेरै अगाडि बढिसकेछ । अब किमोथेरापीको बाहेक विकल्प नभएको बुझें । एक पटक म फेरि आफ्नै सैनिक अस्पताल छाउनी गएँ ।  

करिब १० दिनको हन्डरपछि मेरो आमाको किमो चलाउने समय र औषधि मिलाए । दुई पटक किमो चलाएपछि मेरो आमा निकै गल्नु भयो । अनौठो कुरा के थियो भने यत्रो किमो चलाउने निधो हुँदा र दुई चोटी किमो चल्दा मैले एक पटक पनि क्यान्सरको डाक्टर सा‘बसँग एक बचन कुरा गर्ने मौका समेत पाइन । सँधै त्यहाँको हल्दरसा’बले डाक्टर सा’बसँग फोनमा कुरा भइरहेको छ मात्र भन्नु हुन्थ्यो । मैले मेरो आमाको उपचारको बारेमा सोध्नु छ भन्दा कैले भेट्न पाइन ।

म छा¨ाबाट खसेको जस्तो त त्यो बेला भएँ जब थाहा पाए मेरो आमाको उपचार गर्ने क्यान्सरको डाक्टर साब त महिना दिन पहिले नै विदेश गइसक्नु भएको रहेछ । यसरी क्यान्सर जस्तो विरामीको उपचार पनि फोनको भरमा कसरी गर्न दियो यस अस्पताल प्रशासनले म साहै्र आक्रोशित भएँ । तर पनि आफूलाई सम्हालें । केही दिनपछि एकजना जुनियर डाक्टर सा’बले हेर्नु भयो र किमोको कारणले मुटु र मिर्गाैलामा असर पुगेको बताउनु भयो । थप किमो चलाउन एक पटक इको गर्नु पर्ने सल्लाह भयो ।

म मुटुको डाक्टर साबको कोठा ३ दिन लगातर चाहर्दा पनि कसैले डाक्टर साब कैले भेटिने वा कहिले इको हुने केही पत्त लगाउन सकिन । म निराश हुँदै फेरि ट्याक्सीमा राखी वीर अस्पतालमा पुगी बल्लतल्ल इको गराएँ । यत्रो सैनिक अस्पतालमा पनि किन यस्तो अव्यवस्था ? म पछि गएर स्टाफसँग झाेंकिए । “एउटै मात्रै डाक्टर हुनुहुन्छ अहिले विदामा जानु भएको छ, हामीले  के गर्ने ?’’ हुन पनि हो, यत्रो सैनिक अस्पतालमा एउटा मात्र डाक्टर हुँदा कसरी भ्याउने, मैले चित्त बुझाएँ ।  ।  

 थप समस्यामा आमाको सुगर बेस्सरी बढ्न थाल्यो, मैले सुगरको डाक्टरसँग देखाउन आग्रह गरें । भएको एउटा सुगरको डाक्टर पनि नगरकोट तालिममा जानु भएको रहेछ । अब मिर्गौलाको रिपोर्ट देखाउन म अर्को डाक्टर कहाँ पुगें । संयोगले उहाँ ठूलो नै डाक्टर हुनुहुँदो रहेछ । मैले  कुरै कुरामा हल्दरसाबको भरमा किमो चलाउनु परेको र इको गर्न वीर अस्पताल जानु परेको गुनासो राखें । उहाँ त मज्जाले कड्किनु भयो । डाक्टरलाई यस्तो उग्रस्वरुप कुनै हालतले सुहाएकै थिएन । फेरि उहाँका शब्द साहै्र निष्ठुरी अश्लिल पनि थिए । “यो अस्पताल खोक्रो भएर गैसक्यो बुझ्नु भो †’’ उहाँले चिच्याउदै भन्नु भयो । अब म पनि यहाँ एक्लाई हो । म भोलि लामो समय नहुँदा तपाईंको आमाको डायलाईसिस पनि उही हल्दरसाप कै भरमा हो । इच्छा लागे गर्नुस् नत्र कल्याणकारीलाई गुनासो गर्नुस् । वीर अस्पताल भन्दा पाँच गुणा कम डाक्टर हुँदा हामीले विरामीलाई के सुविधा दिने ?’’

 
 आमाको स्वास्थ्य अवस्था झन झन खस्किँदै गयो । अरु विरामीहरुले पनि आवाज उठाउनु भएछ कि के हो, हामीलाई सिस्टरले अब तपाईको उपचार गर्न भक्तपुर अस्पताल जानु पर्छ, यहाँ क्यान्सरको डाक्टर हुनुहुन्न । यो कुरा हामीलाई महिना दिन अघि नै भनी दिनु भाको भए सायद मेरो आमाको उपचार विशेषज्ञ डाक्टरको निगरानीमा भएको भए राम्रो हुन्थ्यो होला । म मनमनै सोची राखें । भक्तपुर पुगेपछि थाहा पाएँ अब किमो थेरापी पनि खासै गरेर काम रहेनछ । मैले आमाको अन्तिम इच्छा अनुरुप विराटनगर आफ्नै घर फर्किने निधो गरें र एक हप्तापछि आमाले घरकै आँगनमा देह त्याग गर्नु भयो । 

 केही दिनपछि मैले खबर पढें “नेपाली सेनाका प्रधानसेनापति भारतको मेदान्ता अस्पतालमा उपचार गराएर फर्किनु भयो ।’’ मेरो निको हुन लागेको घाउ किन किन फेरि बल्झियो । मैले मेरो आमा विरामी हुँदा भोगेको सम्पूर्ण कष्ट, व्यथाहरु आँखा अगाडि झल झल नाची रह्यो । किन म सैनिकको यस्तो नियति भयो । बाहिरबाट चिटिक्क देखे पनि किन यस्तो खोक्रो भएछ सैनिक अस्पताल । हामी जस्तो आर्थिक अवस्था कमजोर भएकाहरुको लागी त सैनिक अस्पताल नै एउटा सहारा हुन्छ । तर सैनिक अस्पतालको कन्तबिजोग र सेवाको अवस्था हेर्द विरक्त लागेर आयो ।

  हजुरहरु जस्तो पैसा भएका जर्सा’ब र कर्सा’बहरुलाई सायद केही फरक नपर्ला । मामुली १–२ चोटी अब्जर्बर गएर करोडौंको आम्दानी गर्ने अधिकृत सा’बहरुको लागी पनि नेपाल कै मेडिसिटी अथवा नर्विक जान कुनै समस्या नहोला । जहाँ गएर आफूले रोजेको अब्बल डाक्टरहरुसँग उपचार गराउन पाइन्छ । सेनाको कल्याणकारी कोषको रकम बैंकमा पचासौं अर्बौं छ भन्ने सुनिन्छ किन हामी सैन्यहरु र हाम्रा परिवारको स्वास्थ्यमा भने खेलवाड भइरहेको छ ।

कि त पैसा खर्च गरेर हामी जस्तो हिताधिकारीहरुको लागी यथेस्ट अब्बल विशेषज्ञ डाक्टरहरुको ब्यवस्था गरियोस् कि त हामीलाई पनि प्राइभेटमा भने जस्तो डाक्टरसँग उपचार गर्ने स्वीकृति दिइ त्यस्को बिल सोध भर्न गरियोस् । तारे जर्नेल र कर्णेलहरुको उपचार गर्न सैनिक अस्पताल सक्षम छैन भने त्यो कुन कुन रोग हो जसको उपचार गर्न हामी पनि बाहिर जानु पर्ने हो, समयमा नै जानकारी दिनु प¥यो । सैनिक अस्पतालमा उपचारको नाममा सम्बन्धित डाक्टर बिना नै अयोग्य प्यारमेडिक्स्को भरमा उपचार गर्ने बेथिती बन्द गरियोस् ।   

 ठाउँ ठाउँमा अस्प्तालको भवन मात्रै ठडाएर निर्माणबाट करोडौं कमिशन हात लगाउने बाहेक केही हुने वाला छैन, जब सेनाको काठमाण्डौंको केन्द्रीय अस्पतालमा त डाक्टर–नर्सको यस्तो खडेरी लाग्दो अवस्था रहेछ भने त अरु ठाउँको सैनिक अस्पतालको के अवस्था होला । चीफ सा’ब हजुरको उपचार सफल भयो होला भन्ने ठान्छु । आगामी दिनहरुमा स्वास्थ्य स्थिति पनि राम्रो रहोस्, शुभकामना छ । तर, चीफसा’ब एउटा कुराको भने अब हजुरले छिनोफानो गरी दिनुस्, सानोसानो स्वास्थ्य समस्याको उपचारका लागी हजुहरु जस्तो ब्यक्ति चाहिं बाहिर जानु पर्ने अवस्था छ भने, हामी निमुखा सिपाहीहरुले रोग लिएर जाने कता ? प्रधानसेनापति प्रभुराम शर्माज्यूले बताई दिनु प¥यो कि सैनिक अस्पतालको अव्यवस्था तत्काल सुधार गर्नु प¥यो ।       –भुक्तभोगी पीडित सैनिक