हालै दुर्घटनाबाट बचेकी एकजना महिलाले एन्टीबायोटिक ओखति खाँदा जिब्रोमा रौं पल्हाएको खबर छ । न्यूयोर्क पोष्ट पत्रिकाका अनुसार, अमेरिकास्थित मिसौरीकी एकजना महिला कार दुर्घटनामा परेपछि एउटा अस्पतालमा पुगेकी थिइन् । दुर्घटनामा घाइते भएकी उनलाई चिकित्सकले तुरुन्त उपचार शुरु गरेका थिए । उनलाई मेरोपेनम, मिनोसाइलाइनजस्ता एन्टीबायोटिक औषधि दिइएको थियो । केही समयपछि ती महिलाले आफ्नो मुखमा केही असजिलो महसुस गरेकी थिइन र जाँच गराउन अस्पताल पुगेकी थिइन् । तब मात्र पत्ता लाग्यो कि उनको मुखभित्र रौंहरू आउन थालेको थियो जुन एन्टीबायोटिकका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनले पनि आफ्नो एक रिपोर्टमा एकजना महिलाको जिब्रोमा रौं उम्रिएको दाबी गरेको छ, जुन एन्टीबायोटिकको एलर्जीका कारण भएको थियो । यस्तो रोगलाई चिकित्सीय भाषमा लिंगुवा विलासा निग्रा नाम दिइएको छ । यस रोगमा १ देखि १८ मिलिमिटरसम्म मानिसको जिब्रोमा कपाल उम्रिने गर्दछ । अमेरिकन एकेडेमी अफ ओरल मेडिसिनले यसको मुख्य कारण मुखको सरसफाइ नगर्न र धुम्रपान गर्नुलाई मानेको छ । यस रोगको उपचार भएको जानकारी चिकित्सकले गराएपछि ती महिला चिन्तामुक्त बनेको कुरा खबरमा उल्लेख छ । चिकित्सकले उनलाई मुखभित्र सफाई गर्न र मुखको विशेष ख्याल राख्न सल्लाह दिएका छन् ।




