काठमाडौं । ट्याक्सी मिटर सिल गर्ने नाममा ब्रह्मलुट मच्चाउँदै आइरहेका गुणस्तर तथा नापतौल विभागका तीन कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार ट्याक्सी टेम्पो इकाई बालाजुमा कार्यरत निरीक्षक विकास ध्वन्जु, सहायक निरीक्षकद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्काविरुद्ध आरोपपत्र दायर गरेको हो ।
अख्तियारले दुई हप्ताअघि मात्रै उनीहरुलाई भक्तपुरको सल्लाघारीबाट सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पाँच लाख घुससहित रंगेहात पक्राउ गरेको थियो । अख्तियारले पक्राउ पछि केही समय उनीहरुमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानबाट दोषी ठहर भएपछि आयोगले उनीहरुमाथि मुद्दा चलाएको हो ।
अख्तियारका अनुसार, उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दायर गरिएको हो । अख्तियारले आज दायर गरेको आरोपपत्रमा ५ लाख बिगो र कैद सजायको माग गरेको छ ।




